Public Pana
मध्यरातको प्रवाह नगरी मध्यपुरमा नाचिरहे भैरव

मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चार रात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरव नाच  सुरु भएको छ । 

मध्यपुरथिमि नगरपालिका–६ स्थित चपाचो द्यः छेंःबाट सुरु भएको भैरव नाच चपाचो नास द्यः गणेश मन्दिर प्राङ्गण, गार्चा गणेश मन्दिर अगाडि, थामद्यः, गुङ्ग चिवा अगाडि र पछाडि, कुतिं चिवाः, हात्ती महाँकाल, दिगु टोल, इना लाछी, लायकु, दतलय, मरुटोल, बालकुमारी पछाडि, बालकुमारी अगाडि, बालकुमारी भैलः द्यः अगाडि, दिगु टोल भैल द्यः अगाडि, दिगु टोल नारांद्य, कृचि तिवा, कुम्हाननी, तुलंननी, नासननी, चपाचो, जंलाननी, चपाचो द्यः छेंमा रातभरि नाच प्रदर्शन गरिएको हो ।

तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दाङ्गी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले गएरातभर नाच प्रदर्शन गरेका हुन् । नाचमा धांः बाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।

यस वर्षको नाचमा सरगत प्रजापति ज्यापुंगः चा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात् भैरव, राजन प्रजापति लु भैलः अर्थात् भैरव, निरोज प्रजापति न्हापा दाङ्गी र नयन प्रजापति लु दाङ्गी बनेर नाचिरहेको स्थानीय रामकृष्ण शङ्खदेवले जानकारी दिनुभयो ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ ९नसःद्य०को प्राङ्गणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रवधान रहेको छ ।

प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रूपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । 

आर्थिक अभावकै कारण मध्यपुरमा लोप भइसकेको यो जात्रालाई स्थानीय बासिन्दाले विगत केही वर्षयता पुनः सञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रा सञ्चालन गर्न एक महिनादेखिको तयारी गरिएको थियो भने १५ दिन अगाडिदेखि देवगण बन्नेले तान्त्रिक विधिअनुसार नाच सिकेका थिए ।

बोडेमा नीलबाराही नाच सुरु, पूजा गर्नेको घुइँचो

मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच शुक्रबार मध्यरातिदेखि सुरु भएको छ ।

बोडे सहरमा भव्यरूपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छें अर्थात् देवता घरबाट सुरु भई आज बिहान करिब ११ः०० बजेसम्म देवगण सहरको विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यरातिदेखि सुरु भएको नाचपछि आज बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लागेको छ । आज बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्दछन् । आज दिउँसो मध्याह्नसम्म अनवरतरूपमा यो नाच नाचिने र पूजा हुने स्थानीय जात्रा संरक्षणकर्मी दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update