Public Pana
देशभर भव्यताका साथ सुरु भयो माओवादीको रुपान्तरण अभियान

झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गर्नुभयो । 

यस्तै औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड आजै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुग्नुभयो । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो । माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै आज अभियानको उद्घाटन भएको जनाएको छ । 

जनताको घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा बताउने लक्ष्यका साथ अभियान सुरु गरिएको माओवादीका नेताहरूले बताएका छन् । अभियानका क्रममा विकास निर्माणका काम पनि भएका छन् । कतै सफाइ अभियान चलेको छ । कतै रक्तदान त कतै सहिद परिवारलाई सम्मान गरिएको छ । 

सडक मर्मत गर्ने, स्थानीयसँग अन्तक्र्रिया एवं पार्क सफाइ गर्ने कामसमेत अभियानको क्रममा सुरु भएको छ । यस्तै सरकारले गरेको भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा गरेको काम कारबाहीलाई जनताको बीचमा लैजाने माओवादीको ध्येय छ ।

माओवादीले पहिलोपटक फरक कार्यक्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ । त्यसबाट स्थानीयस्तरमा भएको कमी–कमजोरी सुधार्ने तथा नयाँ ढङ्गले सङ्गठनको विस्तार हुने केन्द्रको विश्वास छ । माओवादीका हरेकजसो नेता अभियानमा खटिएका छन् । यसबाट जनतामा नयाँ खालको सम्बन्ध विकास हुने र त्यसले आगामी दिनमा पार्टी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा भरोसा जगाउन र सिङ्गो पार्टीपङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चलाउनुपरेको बताउनुभयो । 

घट्टेडाँडा पार्कमा अध्यक्ष प्रचण्डलगायतका शीर्षनेतालाई स्थानीयवासीले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । पार्कमा उहाँले बिरुवासमेत रोप्नुभएको थियो । गत केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार नै सात प्रदेशका सातवटा वडामा अध्यक्ष प्रचण्ड आफैँ अभियानमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिक्रियावादीहरूले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचारविरोधी अभियानबारे भ्रम फैलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । आफूले यसपटक देश र जनताको पक्षमा केही न केही गर्ने लक्ष्यका साथ काम सुरु गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो पटक नयाँ सङ्कल्पका साथ प्रधानमन्त्री शपथग्रहणपछि नयाँ अभियानको थालनी आफँैले गरेँ, भ्रष्टाचारविरुद्ध सुशासनको अभियान । यो एउटा महाअभियान हो । यो एउटा ठूलो अभियान हो । यो एउटा नयाँ क्रान्ति हो । यो नयाँ प्रकारको जनयुद्ध नै हो ।”

उहाँले भन्नुभयो, “विगतमा जनयुद्धमा हामीलाई घेरा हाल्ने र सखाप पार्ने हिजोको सामन्ती राजा–महाराजाका सपना थिए । अहिले अनेक किसिमले हाम्रो गठबन्धन फुटाउन सरकारले सुरुआत गरेको सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई भ्रमित पार्न अनेक कुचेष्टा भएको छ ।”

प्रधानमन्त्री दाहालले आफूले सुरुआत गरेको भ्रष्टाचारविरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने दाबी गर्नुभयो । अभियानकै क्रममा प्रधानमन्त्री प्रचण्डले नागढुङ्गा–सिस्नेरी सुरुङमार्गका आयोजना प्रमुखलाई फोन गरी तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update