Public Pana
सरकार साहसिक तरिकाले अगाडि बढेको छ : प्रधानमन्त्री दाहाल 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै कामलाई अगाडि बढाएको बताउनुभएको छ । सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको उल्लेख गर्दै उहाँले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको बताउनुभयो ।  

    नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको तीनमहिने ‘जनतासँग रुपान्तरण अभियान’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ ।”

    सरकारले नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ । 

    यस्तै मिटरब्याज पीडितका पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षामा ल्याइएको छ । राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र सामाजिक न्यायका क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।  

    यस्तै, जनयुद्धका सहिद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकालाई सहिद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक बिदालगायतका निर्णयले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेको सम्मान भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले लघुवित्त पीडितको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयमा पठाइएको, किसानलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, विपन्न र असहायका निम्ति निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधारलगायतका कामले सरकारको सङ्कल्प र प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको बताउनुभयो । 

    वित्तीय तथा मौद्रिक नीतिको सन्तुलनमार्फत निजी क्षेत्रलाई समेत विश्वासमा लिइ सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको उहाँले जानकारी दिनभयो । 

    नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकाङ्क सकारात्मक दिशातर्फउन्मुख रहेको तथ्याङ्क प्रधानमन्त्री दाहालले पेस गर्नुभयो । गत असार मसान्तसम्म शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । यस्तै विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

    त्यस्तै, विप्रेषण आयमा २१ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यही भदौ ११ गते मात्रै नेपाल राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको र त्यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको बताउनुभयो ।

    सरकारले चालेका जनमुखी कदमले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update