Public Pana
एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित, बहराइन १० विकेटले पराजित

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनविरुद्ध १० विकेटको सानदार जित हात पारेको छ ।

बहराइनले प्रस्तुत गरेको ३२ रनको झिनो लक्ष्य नेपालले २ ओभर ५ बलमा बिनाकुनै विकेट गुमाएर पूरा ग-यो ।

योसँगै नेपाल तेस्रोपटक १० विकेटले विजयी भएको छ भने तेस्रो अधिक बल बाँकी रहँदै जित दर्ता गरेको छ । नेपाल १०४ बल बाँकी रहँदै विजयी भएको हो । यसअघि १३औं सागमा नेपालले माल्दिभ्सविरुद्ध दुईवटा खेलमा ११५ र ११३ बल बाँकी रहँदै जित निकालेको थियो ।

एसटीसी क्रिकेट ग्राउन्डमा टस जितर पहिले ब्याटिङ गरेको बहराइनले १४ ओभर ४ बलमा अलआउट हुँदै ३१ रन मात्र बनाएको थियो । उसका ओपनर थरंगा गजनायके ४ रन, कप्तान दीपिका रासंगिका ११ तथा इशारा सुहुन र आशा समिलदीन समान ५–५ रनमा आउट भए । पवित्रा सेट्टीले १ रन बनाइन् । रसिका रोड्रिगो, अबिरा वारिस, प्रज्ञा जगदीशा, मनाल मलिक र अश्विनी मुंगलीमाने खाता खोल्न सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ३ र खुसी डंगोलले २ विकेट लिइन् । कविता कुँवर, पूजा महतो, रुविना क्षेत्रीले १–१ विकेट बाँडे । १.४ ओभर बलिङ गरेकी खुसीले कुनै रन खर्च गरिनन् ।

३२ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाललाई सानदार जित दिलाउन कविता कुँवर १७ रन तथा सीता राना मगरले २ रनको अविजित इनिङ खेले ।

नेपालले १३ अतिरिक्त रन प्राप्त ग-यो । बहराइनका कुनै बलरले विकेट लिन सकेनन् । चार ओभरमा पाँच रन खर्चेर ३ विकेट लिएकी इन्दु बर्मा म्यान अफ दी म्याच घोषित भइन् ।

जितसँगै नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा मलेसियालाई पाँच रनले हराएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि मजबुत बनेको छ । नेपालले अब आइतबार भुटान, मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update