Public Pana
केन्याविरूद्धको टी-२० सिरिज नेपाललाई

अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ। नेपालले पाँच टि२० आई खेलको सिरिज ३(२ ले जित्न सफल भएको हो।

जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे। नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे।

विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए। नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो। नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए। ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए। ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए। पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए। नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो। तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए। पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए। नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो। तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो। अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ। पहिलो खेल शुक्रबार हुनेछ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update