Public Pana
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उहाँकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको जनाएको छ ।
 
जापानी सम्राट मेइजिले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेलले ग्रहण गर्नुहुनेछ । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स हुनुहुन्थ्यो ।
 
वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो ।  
 
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहनुहुँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्ष समेत रहनुभएको थियो । उहाँ सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो ।
 
      जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

उक्त सम्मानपछि बधाई दिदै बरिष्ठ अर्थबिद् डा. स्वर्णिम वाग्लले सामाजिक सञ्चालमा जापानी सम्राटबाट प्राप्त सम्मानको थप जानकारी दिएका छन् । 

जापानको उच्च सम्मान आज रामचन्द्र पौडेललाई**
जापानको आधुनिक प्रगतिको जग सम्राट मेइजिले हालेका हुन् (Meiji Restoration, १८६९)। उनै सम्राटले शुरु गरेको राजकीय सम्मान--Order of the Rising Sun (पहिलो दर्जा: Grand Cordon)--आज रामचन्द्र पौडेलले ग्रहण गर्ने हुनुभएकोमा हार्दिक बधाई। विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यस सम्मानमा थोरै विदेशीहरु पर्ने गर्छन्: अढाई वर्षअघिको घोषणामा रामचन्द्र पौडेल र Microsoft संस्थापक Bill Gates हुनुहुन्थ्यो। पौडेललाई विशेषत: पूर्व सभामुखको हैसियत र त्यसपछि सुदृढ जापान-नेपाल सम्बन्धका लागि कदर गरिएको हो। महत्वपूर्ण घडीमा दह्रो निर्णय लिन चुकेको वा साम-दाम-दण्ड-भेदको राजनीतिमा पछि परे जस्तो देखिएपनि निष्ठा, बौद्धिकता, त्याग, सैद्धान्तिक लेखपढ, संघर्ष र अनुभवमा समकालीन राजनीतिज्ञहरुमध्ये वहाँको स्थान अग्लो छ। 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update