Public Pana
नेपालको विजय सुरुवात, मलेसिया ५ रनले पराजित

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । 
 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो। ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । 
 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन्। उनले ५४ बल खेल्दै एक चौकासमेत हानिन् ।
 

यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । 
बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक–एक विकेट लिए । 

 

मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् ।  
 

बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई–दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । 
 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।
 

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update