Public Pana
राखेपका कर्मचारीद्वारा आन्दोलन स्थगित, भयो बढुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप), पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी सङ्घले आन्दोलन स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको पदपूर्ति समितिले मङ्गलवार बढुवा हुने कर्मचारीहरूको नामावली प्रकाशित गरेपछि कर्मचारी सङ्घकी अध्यक्ष सरस्वती केसीले मङ्गलवारै विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जानकारी गराएकी हुन् ।
राखेप कर्मचारी सङ्घले बढुवा प्रक्रिया नियमअनुसार नभएको भन्दै गत साउन २५ गते आन्दोलनका कार्यक्रम घोषणा गर्दै साङ्केतिक रूपमा विरोध जनाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को ११६ औ बोर्ड बैठकको निर्णय अनुसार पदपूर्ति समितिले परिषदमा लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीहरूलाई बढुवा गर्न प्रक्रिया थालनी गरेको थियो ।

बढुवाका लागि प्रक्रिया अनुसार ३८५ जनाले नाम दर्ता गरेपनि बढुवा नभएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएको थियो ।
आइतबार बसेको पदपूर्ति समितिको निर्णय अनुसार राखेपले हाल कार्यरत रहेको श्रेणी, पदबाट एक तह माथिल्लो श्रेणी, पदमा बढुवा गरी कर्मचारीहरूको नामावली प्रकाशित गरेको थियो ।

त्यसपछि कर्मचारी सङ्घले पनि माग सम्बोधन भएको भन्दै आन्दोलन स्थगित गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद् पदपूर्ति समितिको मिति २०८०–५–१ गतेको निर्णय अनुसार बढुवाका लागि परिषदमा सिफारिस सहित नामावली प्रकाशित गरी कर्मचारीहरूको मागलाई सम्बोधन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी सङ्घले २७ वर्षदेखि बढुवा स्थगित रहेको भन्दै एसियाली खेलकुदको तयारी नै प्रभावित गर्ने चेतावनी दिँदै आन्दोलन सुरु गरेको थियो ।

बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update