Public Pana
चालुपूँजी कर्जाको संशोधन उपलब्धीपूर्ण नभएको चेम्बरको दुखेसो 

नेपाल चेम्बर अफ कमर्सले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन व्यवसायमैत्री हुन नसेकको जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सले संशोधित व्यवस्था उद्योगको हकमा केही सकारात्मक देखिएको पनि जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने हुने नसकेको भन्दै व्यवसायमैत्री बनाउन माग गरेको छ ।

‘नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही राहत दिन खोजेको छ ।

तर, जीडीपीमा महत्वपूर्ण योगदान गर्ने व्यावसायिक क्षेत्रमा पनि चालुपूँजी कर्जा मार्गदर्शन लचिलो हुन आवश्यक छ,’ चेम्बरले आज बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जाको सीमालाई एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न चेम्बरले माग गरेको छ ।

कर्जाको सीमा बैंक र ऋणीबीच आवश्यक्ताका आधारमा निर्धारण भए व्यवसायिक वातावरण सहज हुने माग चेम्बरले गरेको हो ।

चेम्बरले विज्ञप्तिमा पछिल्लो समय उच्च ब्याजदरका कारण लगानी निरुत्साहित भइरहेका बेला लचिलो चालुपूँजी कर्जाको नयाँ व्यवस्थाबाट थप सहजीकरण गर्न आग्रह गरेको छ ।

यस्तै कर्जा वर्गीकरण सम्बन्धमा भएको संशोधनप्रति पनि ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update