Public Pana
डाक्टरहरूलाई कुवेतमा रोजगारी लगाइदिने भन्दै झुटो विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागद्धारा  निलम्बन

स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गरेको पाइएपछि वैदेशिक रोजगार विभागले दुई म्यानपावरलाई निलम्बन गरेको छ ।
 

विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको छ ।
 

यसका साथै सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउनका लागि यो म्यानपावरले आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा इजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी समेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएको विभागले जनाएको छ । 
 

यस्तै व्यक्तिगत रूपमा दक्ष र सीपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेशनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालिलाई पनि विभागले निलम्बन गरेको छ । 
 

दुवै म्यानपावरलाई मङ्गलवार निलम्बन गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।
 

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावरहरूले व्यक्तिगत रूपमा कुनै पनि श्रमिक पठाउन पाउँदैनन् । यसो गरेमा वैदेशिक रोजगार ऐन २०६४ उल्लङ्घन गरेको हुन्छ । 
 

साथै कुनै पनि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीको विज्ञापन गर्नुअघि विभागसँग पूर्व स्वीकृति लिन पर्छ । 
 

तर पछिल्लो समय विभिन्न सामाजिक सञ्जालका माध्यममार्फत वैदेशिक रोजगारीको झुटो र भ्रामक विज्ञापन गर्ने र मान्छेहरू ठग्ने क्रम बढेको छ । यस्तो ठगी म्यानपावर कम्पनीहरूले नै गरिरहेका छन् । 
 

त्यसैले वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई सामाजिक सञ्जालमा आउने वैदेशिक रोजगारीका विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । 
 

कानुन विपरीत सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको विज्ञापनका साथै अन्य गतिविधि नगर्न विभागले सबै म्यानपावर कम्पनीहरूलाई अनुरोधसमेत गरेको छ ।
 

यसअघि पनि सामाजिक सञ्जालमार्फत विभागको स्वीकृति विनै वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update