Public Pana
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग गर्न नहुने नेता पुनको टिप्पणी

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग हुन नहुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पुनले सामाजिक न्याय र सुशासनका लागि सरकारले चालेका कदमलाई सवैले समर्थन गर्नुपर्ने भन्दै सरकारले पनि कसैलाई आग्रह र पूर्वाग्रह राखेर काम गर्न नहुने बताउनुभयो ।

उहाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेकाले आपसी सद्भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने बताउनुभयो ।

कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा पनि पुनले जोड दिनुभयो । त्यस्तै उहाले सङ्क्रमणकालीन न्याय निरुपण र द्वन्द्वपीडितलाई न्याय दिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

त्यस्तै बिशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकार पछि हट्न नहुने जिकिर गर्नुभयो ।

उक्त प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै उहाले भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गर्नुभयो । उहाँले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गर्नुभयो । 

त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेङ्गी रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेङ्गीको सङ्क्रमण पुष्टि हुने गरेको उहाँको भनाइ छ । 

उहाले डेङ्गीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेकाले औषधि र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि आग्रह गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update