प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आवश्यकता र चाहना अनुसार विकासको प्रक्रिया अगाडि बढाउन गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
आज सोमबार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत तरिकाले मुलुकको आवश्यकता र चाहना अनुसार विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले त्यसमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर देशकै एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने जिकिर गरे ।
सरकारको पुँजीगत खर्च समग्रमा ६१ दशमलव पाँच प्रतिशतमा सीमित रहनु लागि चिन्ताको विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसप्रति गम्भीर भएर समाधान निकाल्नुपर्ने बताए।
विकास निर्माणको कार्यमा उदाहरणीय नतिजा ल्याउने र पुँजीगत खर्च शतप्रतिशत पु-याउने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डले सबैलाई आग्रह गरे ।
विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेहरूलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
बिकास, स्वास्थ्य शिक्षा लगाएको वेथिति अन्त्य गर्न अन्तिम लडाई लड्न लागेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिने भएकाले यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत अनुरोध गरे ।