Public Pana

प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए ।

नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेकामा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् ।

सभापति घोषणासँगै आजै सपथ ग्रहणको तयारी भइरहेको संसद सचिवालय गरेको छ ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update