Public Pana
महराका बाबुछोरामाथि सुनको अनुसन्धान थाल्न सरकारी वकिलको निर्देशन 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई निर्देशन दिएको छ ।
 

२०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएपछि सिआईबीले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो ।
 

सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएपछि अब अनुसन्धानको दायरामा ल्याउन प्रमुखबाट निर्देशन भएको् जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए ।
 

महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो ।
 

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सीआईबीको अनुसन्धानबाट देखिएपनि उनीहरूमाथि अनुसन्धान नै नगरी २७ असारमा प्रतिवेदन बुझाएको थियो ।
 

भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।
 

महराका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।

२०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएको खुलेको थियो ।

mahara-bauxora1693218432.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update