Public Pana

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् ।

आज सोमबार केन्द्रको अनुगमनपछि स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्युन भएकाले लगानी बढाउन पनि आफु सकारात्मक रहेको जिकिर गरे ।

स्वास्थ्यमन्त्री बस्नेतले केन्द्रको सेवा सुविधा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन पनि आफुले पहल गर्ने बताए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी समेत दिए ।

केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update