Public Pana
महाभियाेग सिफारिस समितिले आज चाेलेन्द्रसँग बयान लिने

महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणा बुधबार बिहान ११ बजे सोधपुछका लागि महाभियोग सिफारिस समितिमा उपस्थित हुँदैछन्।

उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ। उनीविरुद्ध गएकाे फागुन १ गते महाभियाेग प्रस्ताव दर्ता भएकाे थियाे ।

नेपालको संसदीय इतिहासमा महाभियोग संसदको प्रक्रियामा प्रवेश गरेको यो पहिलोपटक हो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाभियोग दायर भए पनि प्रक्रियामा प्रवेश गरेको थिएन।

गत फागुन १ गते सत्ता पक्षका ९७ जना सांसदले राणाविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाभियोग दर्ता गरेका थिए। अभियोग दर्तासँगै राणा निलम्बित अवस्थामा छन्।

महाभियाेग ६ महिनादेखि नै विचाराधीन अवस्थामा छ। फागुनमै महाभियाेग सिफारिस समिति गठन गरिएकाे थियाे।

समितिले भदौ ९ देखि १२ सम्म प्रमाण संकलन गरेकाे थियाे।

नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालत बार एसाेसिएसन, पूर्वन्यायाधीश फोरमले प्रमाण पेस गरेका छन्।

व्यक्तिगत रूपमा चार थान प्रमाण इमेलमार्फत् पनि समितिमा दर्ता भएको समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update