Public Pana
ब्याड टच आरोपमा शिक्षकले कुटाइ पाए 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ ।
 

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन् । 
सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्र प्रसाद जोशीलाई भएको निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षकहरुले आइतबार भीमदत्त नगरका विद्यालय बन्द गराएका थिए । 

 

जिल्लास्तरीय आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले आन्दोलनलाई जिल्लाव्यापी बनाउने निर्णय गरेको हो ।

भदौ ३ गते एक छात्राले शिक्षक जोशीले आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन् ।
 

शिक्षक जोशीले भने छात्रालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन्। प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीलाई निर्घात कुटपिट गरेको थियो । सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशी कुटिँदा प्रहरी मूकदर्शक बनेको आरोप छ ।
 

घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए । 


आज सोमबार बेलुकासम्म आफूहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी शिक्षकहरुले दिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update