Public Pana

सांसदहरुले विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव कायम राख्दै देश विकासमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले सामाजिक सद्भावलाई कायम राख्न आह्वान समेत गरेका छन् । 
बैठकमा सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा सामाजिक सदभावलाई खलल पु¥याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह सरकारले पहलकदमी लिनुपर्ने बताए ।

आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्नुपर्ने उनले उल्लेख गरे ।

त्यस्तै सांसद भगवती न्यौपानेले धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत बन्नुपर्ने बताए ।

उनले जातीय सद्भावमा खलल पुग्ने गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहो-याएको आरोप लगाए ।

त्यस्तै सांसद भुवनबहादुर सुनारले देश विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने बेला आपसमा लडाईं नगर्न आग्रह गरे ।
सांसद मोहम्मद खालिदले कोशी प्रदेशमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थपसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउदै आगामी पुस मसान्तसम्म कार्यावधि थप गर्ने गरी आदेश जारी भएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update