Public Pana
सन्दीपको एसिया कप खेल्न भोलि पाकिस्तान जाने, अदालतमा आज सुनुवाई भएन 

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आजका लागि तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा राखिएको छ । 

अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको पेसी ५ औं नम्बरमा थियो ।
आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि (सोमबार) पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन् ।

सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेको थियो ।

यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिवडाको इजलासले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो ।

अदालतमा पेस गरिएको आमाको उमेर विवादित देखिएपछि अदालतले थप प्रमाण बुझ्न भनेको थियो । 
उनको उमेर प्रमाणित हुने कागजात अदालतमा पेस भइसकेको छ। अन्तिम सुनुवाइका लागि मुद्दा पटकपटक पेसी चढाइएको छ । तर फैसलाका लागि बहस हुन सकेको छैन। जिल्ला अदालतमा यो मुद्दा २६औं पटक पेसीमा चढेको हो । 

 

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्।

प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 
 

थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए । उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो । 

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update