Public Pana

प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका सांसदहरूले उम्मेदवारी दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ ।

दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उम्मेदवारी दिएका छन् । समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका छन् ।

अर्थ समिति सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा जनता समाजवादीका राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।

यस्तै पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update