Public Pana

इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।

अस्वभाविक रुपमा इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धि गरिएको भन्दै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका हुन्् । विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशतसम्म अवैज्ञानिक र असान्दर्भिक रुपमा शुल्क बृद्धि गरेको भन्दै तुरुन्त फिर्ता दिन माग गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थानलाईसेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने माग गरेका छन् ।

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा नेविसंघका सभापति दुजाङ शेर्पाले विश्वविद्यालय पदाधिकारी र शिक्षामन्त्रीसंग आग्रह गर्दा पनि बढेको शुल्क फिर्ता नभएको भन्दै आफ्ना गुनासो प्रधानमन्त्रीलाई सुनाउन बालुवाटारमा धर्ना दिनुपरेको बताए ।

शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले विद्यार्थी र अभिभावकलाई मारमा पार्ने गरि शुल्कबृद्धि गर्न नहुने उनको भनाइ छ ।

त्यस्तै नेविसंघकी केन्द्रीय सदस्य मिरा कटुवालले शिक्षाको शुल्क मात्रै बढाउने तर गुणस्तर नवढाउने कुरा स्वीकार्य नहुने बताए ।

त्यस्तै नेविसंघले इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग राखेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update