Public Pana
संसदीय समिति सभापतिमा आज मनोनयन दर्ता गरिदै

प्रतिनिधि सभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोली सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
‘प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,’ प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची भोलि बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।
दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले भोली प्रस्तुत हुनेछ । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।
प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ । तर प्रतिनिधिसभाको सदस्य नरहेका पदेन सदस्यले भने निर्वाचनमा मत दिन पाउने छैन ।
समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update