Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
 

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले कोशी प्रदेशमा अब ५० सांसदसहित एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेपछि ओलीले एमालेको सरकार बन्ने दाबी गरेका हुन् । 
 

उनले कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले पनि संविधान नमान्दा आफू अचम्ममा परेको बताए ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले काङ्ग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए ।

कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यस्तै, एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् । 
 

अध्यक्ष ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताए । 

पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर आगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update