Public Pana
लगातारको वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति

लगातारको वर्षासँगै बाढी–पहिरोले ठाउँठाउँमा जनधनको क्षति भएको छ ।

हुम्लाको रिपगाड खोलामा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । गत सोमबारदेखि परेको निरन्तर वर्षापछि आएको बाढीले सर्केगाड गाउँपालिका २ को रिपगाड खोलामा ताँजाकोट ४ गल्लाबाडाका ५० वर्षीय नन्दऋषि जैशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यस्तै, लगतारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले हेलम्बुको एक विद्यालय र ग्यालथुम बस्ती उच्च जोखिममा परेको छ ।

बाढीले बस्ती कटान हुँदा ६ घरका परिवार विस्थापित भएका छन् । बाढीका कारण सरस्वती माध्यमिक विद्यालयका दुईवटा शौचालय बगाएको छ । विद्यालयका फर्निचरलगायत सामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

बाढीले बस्ती क्रमिक रुपमा काटन गरिरहेको छ । खोलामा पानीको बहाव कम नभएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । चार दिनदेखिको वर्षा अझै रोकिएको छैन । बाढीले मेलम्ची–हेलम्बु सडक यातायात र विद्युतीय सेवा अवरुद्ध भएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

यस्तै अविरल वर्षाले मेलम्चीमा बाढी आउँदा हेलम्बु गाउँपालिका १, अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ । 

निरन्तरको वर्षाका कारण आयोजनाको मुहान गेटमा ढुंगा–माटो थुप्रिएको आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठले जानकारी दिए ।

निरन्तरको वर्षाका कारण चीन जोड्ने कोदारी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक तातोपानीको १० किलोमा झरेको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका सामान बोकेका कन्टेनर बाटोमै रोकिएका छन् ।

यस्तै, लगातार परेको वर्षाका कारण खोटाङमा ६ घर पहिरोको उच्च जोखिममा परेका छन्। हलेसी तुवाचुङ नगरपालिका ७, महादेवस्थानका स्थानीयको ६ घर पहिरोको उच्च जोखिममा परेको हो । पहिरोमा लेदो बगिरहेकाले स्थानीयलाई थप जोखिमबाट सचेत हुन भनिएको छ ।

वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

आज शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका १ मा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update