Public Pana
केही स्थानमा बाढी, मौसम विभागद्वारा ‘सर्तकता’ जारी

वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढिरहेको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन भन्दै ‘अलर्ट’ (चेतावनी) जारी गरेको छ । 

विभागका अनुसार बागमती नदीको पँधेरादोभान बाढी मापन केन्द्रमा जलसतह (बाढी) ले सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र रौतहट र सर्लाहीका डुबान क्षेत्रमा रहेकाहरूले आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आवश्यक छ । 

यसैगरी कैलालीका टीकापुर, चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना देखिएकाले ससाना नदीमा ठूलो बाढी आउने सम्भावना छ । तसर्थ त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले सुझाव दिएको छ । 

यस्तै दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुंगामा जलसतह (बाढी) ले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दूधकोसीको सुनकोसी दोभानसम्म नदी तटीय क्षेत्रमा आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

विभागका अनुसार कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ र बढ्दो छ, कमला बेलसोत उदयपुरमा पनि जलसतह बढ्दो छ ।

यसैले सिन्धुली, उदयपुर, धनुषा र सिराहाका तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा रहेका नागरिकले आज बिहान ११ बजेसम्म सतर्कता अपनाइन राख्न विभाले भनेको छ । 

दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा, इलाममा भारी वर्षा भएकाले ससाना नदीमा आकस्मिक बाढी तथा पहिरोको समेत जोखिम देखिएको विभागले जनाएको छ। तसर्थ ती क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आवश्यक छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update