Public Pana
शीतयुद्ध अन्त्यका लागि भूमिका खेलेका नेता मिखाइल गोर्बाचोभको निधन

तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रुपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनी सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुगेका थिए । उनले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गरेका थिए भने आन्तरिक रुपमा सुधारहरु गरेका थिए ।

तर उनी युनियनको मन्दगतिमा भइरहेको स्खलन रोक्न भने असफल रहे । सोभियत युनियनको स्खलनसँगै नयाँ रुसको उदय भएको हो । गम्भीर दीर्घ रोगसँग जुध्दै आएका गोर्बाचोभको मस्कोस्थित अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विश्वभरबाट उनीप्रति श्रद्धाञ्जली आउने क्रम जारी छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गटरेसले गोर्बाचोभले ‘इतिहासको मार्ग नै परिवर्तन’ गरेको भन्दै श्रद्धा प्रकट गरेका छन् ।

‘मिखाइल गोर्बाचोभ एक राजनेता थिए’, महासचिवले ट्वीटरमा भनेका छन्, ‘विश्वले सर्वोच्च विश्व नेता, प्रतिवद्ध बहुलवादी र शान्तिका अधक प्रवक्ता गुमाएको छ ।’

पछिल्ला वर्षहरुमा गोर्बाचोभको स्वास्थ्य निकै कमजोर बन्दै गएको थियो । उनी समय समयमा अस्पताल जाने आउने गरेका थिए । गएको जुनमा उनी पछिल्लोपटक अस्पताल भर्ना भएका थिए । मृगौला सम्बन्धी समस्याले अस्पताल भर्ना भएको भनिए पनि उनको निधनको कारण भने खुलाइएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचोभको निधनप्रति गम्भीर समवेदना प्रकट गरेका छन् ।

युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डे लियनले गोर्बाचोभ विश्वासयोग्य र सम्मानित नेता रहेको बताएकी छन् । ‘गोर्बाचोभ ती नेता हुन् जसले स्वतन्त्र युरोपको मार्ग प्रसस्त गरे’, उनले भनेकी छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update