Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु बिभिन्न पदमा रहदा कानून बमोजिम नै फैसला गर्ने गरेको बताएका छन् । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई आज बिहीबार सम्बोधन गर्दै उनले आफु प्रधानमन्त्री, परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा गरेका कामकारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफुले हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको बताएका हुन् ।

विरोधीहरुले सत्यका बिरुद्ध काम गर्छन भन्ने आफुहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस भनेर आफु सतर्क रहेको उनको धारणा थियो  ।

अध्यक्ष ओलीले अहिलेका बिभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न  झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयलाई उचालेको आरोप लगाए ।

उनले सुन तस्करी प्रकरणको तत्काल छानविनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानविन गर्ने गरि उच्चस्तरीय छानविन आयोग गठनमा सहमति भएको जिकिर गरे ।

उनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको धारणा राखे । ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायव गरेको कुरालाई एमालेले उठाउदा बिषयान्तर गर्न खाजेको तर्क गरे ।

त्यस्तै उनले कोशी प्रदेशको नामाकरणमा मत दिएर बाहिर निस्किपछि प्रचण्ड र माधव नेपालका कार्यकताले पूर्वमा आन्दोलन चर्काएको आरोप लगाए । बिभिन्न बहानामा नेपाली जनतालाई जुधाएर तालि बजाउने काम एमालेलाई स्वीकार्य नहुने ओलाीको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update