Public Pana
मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउँछौँ  : ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउनेगरी काम अगाडि बढाउने बताएका छन् ।

आज बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै उनले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउनेगरी काम अगाडि बढाउने बताएका हुन् ।

मन्त्री बस्नेतले यसको निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

उनले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गरे। उनले पूर्वसूचना प्रणालीलाई पनि जनमानसमा अझ व्यापक गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले यसको निम्ति नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा गर्नुपर्ने काम सरकारले गर्ने बताए ।

उनले भने, ‘हामी अत्यन्त जिम्मेवारीका साथ र पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने? पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने? के हुँदैछ भन्ने कुरा आम जनताले बुझ्नसक्ने, थाहा पाउन सक्ने सबैले पूर्व जानकारी लिनसक्ने परिस्थितिको सुनिश्चित कसरी गर्ने र हाम्रो पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यवहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो ।’

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update