Public Pana
महिला टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित

नेपालले चार देश सम्मिलत महिला टी–ट्वान्टी आईमा कुबेतलाई ३४ रनले पराजित गरेको छ । 
 

इन्दु बर्माको अलराउन्ड प्रदर्शनको मदतमा दोस्रो खेलमा पनि जित हात पारेपछि नेपाल फाइनलनजिक पुगेको छ ।
 

मलेसियाको बायोमास क्रिकेट मैदानमा कुबेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो ।

सुस्त सुरुवात गरेको नेपालले एघार ओभर सकिँदासम्म चार विकेट गुमाएर मात्र ३६ रन जोडेको थियो । ओपनर पूजा महतो शून्यमा पभेलियन फर्किइन् । सम्झना खड्का १ र सीता रानामगर ७ रनमा मैदानबाट बाहिरिए ।
 

कप्तान रुबिना क्षेत्रीले मात्र ५ रन जोडिन् । विन्दु रावलले ४५ बल खेलेर २० रन बनाइन् । इन्दु बर्माले सर्वाधिक २३ रन रनको योगदान गरिन् । काजल श्रेष्ठ १८ बलमा १९ रन बनाउँदै अविजित रहिन् । कविता कुँवरले भने खाता खोल्न सकिनन् । कविता जोशी पनि एक रनमै आउट भइन् ।
 

आजको खेलमा खुसी डंगोलले सिनियर टिममा डेब्यु गरिन् । उनी एक रन बनाउँदै अन्तिम समयसम्म क्रिजमा रहिन् ।
 

मरियम्मा हैदरले चार र मरयम ओमरले दुई विकेट लिए । जवाफमा कुबेतले २० ओभरमा ८ विकेटको नोक्सानीमा ५५ रन मात्र बनाउन सक्यो । जिफा जिलानीले ११ र खादिजा खालिले १० रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । इन्दुले चार ओभरमा १६ रन खर्चिएर ३ विकेट लिइन् । खुसीले २, कविता कुँवर, सीता र ईश्वरी विष्टले एक–एक विकेट लिए ।
 

दुई खेलबाट चार अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । दुई अंकसहित हङकङ दोस्रो र तेस्रो स्थानको मलेसियाको पनि दुई अंक नै छ ।

लगातार दुई खेल हारेको कुबेत प्रतियोगिताबाट बारिहियो ।

नेपालले अब शुक्रबार मलेसियासँग खेल्नेछ । सोही दिन हङकङ र कुबेत पनि आमनेसामने हुनेछन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update