Public Pana

नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।

गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्ययनका लागि युवाहरु बाहिर गएको अवस्थामा देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका पढ्ने अवस्था नभएको बताए । उनले तीन दिनभित्र शूल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदै नेविसंघले यसका लागि प्राविधिक, व्यावहारिक र जीवन उपयोगी शिक्षालाई समय सापेक्ष रूपमा परिवर्तन गर्न आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update