Public Pana
बजारमा प्याज पाइन छोड्यो

भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ । प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’

कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।

एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।

गत आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो । वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update