Public Pana
प्रतिनिधिसभा बैठक आज बस्दै  

साउनयता निरन्तर अवरोध हुँदैं आएको प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । 
 

हिजो सूचना टाँस गरेर बैठक आजसम्मलाई स्थगित गरिएको थियो । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे बोलाइएको हो ।
 

दलहरुका बीचमा देखिएको गतिरोध अन्त्य भएमा आज दिउँसो ३ बजे भने बैठक बस्नेछ । त्यस अगाडी नै सहमतिको प्रयासका लागि बिहान ११ बजे सत्ता र प्रतिपक्षी दलका बीचमा छलफल हुँदैछ ।

सम्भवत आजको बैठकमा सदन खोल्ने बारेमा सकारातमक परिणाम आउने अपेक्षा राजनीतिक बृतमा छ ।
 

संसद चलेमा आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
 

उता, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।
 

साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
 

विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ ।

संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सूचना पनि जानकारी गराइनेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update