Public Pana
दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

डिएसपी गौतमका अनुसार गत आइतवार राति विकलाई अपहरण गरी रा१ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पु-याएको थियो । त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको  प्रहरीले बताएको छ । घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पक्राउ परेहरुले घाइते विकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।

डीएसपी गौतमले पक्राउ परेकाविरुद्ध अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको  बताए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update