Public Pana
चितवनमा आज विद्युत् सबस्टेसन सञ्चालन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चितवनको भरतपुरमा विद्युत् सबस्टेसनको उद्घाटन गर्दै छन् ।  

भरतपुर महानगरपालिका–११ आँपटारीमा मंगलबार बिहान ११ बजे हुने विशेष समारोहमा प्रचण्डले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित विद्युत् सबस्टेसनको उद्घाटन गर्न लागेका हुन् ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आजै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा सहभागी हुन उर्जामन्त्री शक्ति बस्नेत, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरु चितवन जाँदैछन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।

त्यसैगरी नेपाल सरकार तथा प्राधिकरणको लगानी तथा विश्व बैंकको सहुलितपूर्ण ऋण सहयोगमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण पूरा हो। 

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ।

एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update