Public Pana
रुसद्वारा काठमाडौँमा मेट्रोे रेलको प्रस्ताव माग 

रुसले काठमाडौँमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ ।

आज सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

आजको भेटमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको र त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ ।

रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेको समेत सचिवालयले जनाएको छ । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।

मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन् ।

केही समयमै रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने समेत बताइएको छ ।

उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको सचिवालयले जनाएको छ ।

रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरूको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update