Public Pana
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे

कोशीका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने सत्ता गठबन्धनको निर्णय भएको छ ।
 

आज सोमबार बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।
मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् । तर प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।

 

किनकी एमालेका ७ र राप्रपाका एक जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुन सूचना दिएका छन् भने काठमाडौं उड्नुअघि उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् ।
 

मन्सुरीले बैठकको अध्यक्षता गरेर मतदान नगर्दा मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने भएकाले सत्ता गठबन्धन अलमलमा परेको थियो ।

सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो ।
 

तर उपसभामुखले आह्वान गरेको बैठकले अरुले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कोशी प्रदेशले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update