Public Pana
जलनका विपन्न बिरामीका लागि अक्षय कोष स्थापना

आर्थिक अवस्था कमजोर भएर जलनको उपचार गराउन नसक्ने बिरामीको सहयोगका लागि जलन अक्षय कोषको स्थापना गरिएको छ ।

जलनका बिरामी बर्सेनि बढिरहँदा महँगो उपचार गराउन नसक्नेहरुलाई कोषमा जम्मा भएको रकमको ब्याजबाट औषधि, उपचारमा सहयोग गरिनेछ ।

कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रस्टले कोष स्थापना गरेको हो । यस कोषको संरक्षकमा सांसद चन्द्र भण्डारी, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् । कीर्तिपुर अस्पतालको सिफारिसमा आर्थिक विपन्न र असहाय जलनका बिरामीको उपचारमा यस कोषको रकमबाट सहयोग गरिनेछ ।

जलन अक्षय कोष स्थापना गर्न आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालमा प्रत्येक वर्ष करिब ५६ हजार मानिस विभिन्न कारणले जल्ने गर्छन् । तीमध्ये करिब २१ सयले ज्यान गुमाउँछन् ।

कीर्तिपुर अस्पतालका प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ विभागका प्रमुख डा. किरण नकर्मीले भर्ना भएकामध्ये अधिकांश बिरामी कमजोर आर्थिक अवस्थाका हुने गरेको बताए ।

नकर्मीले भने, ‘गम्भीर जलन भएका बिरामीको महँगो उपचार खर्च तिर्न नसक्दा विचल्ली हुने गरेको छ, यो कोषले उनीहरुलाई मद्दत मिल्न सक्छ ।’ जलनको उपचार निश्चित स्वास्थ्य संस्थामा मात्र छ ।

एक दशकअघि स्थापना भएको कीर्तिपुर अस्पताल जलनको विशिष्टीकृत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update