Public Pana
बच्चा गायब  : प्रेमी र डाक्टर पक्राउ

मिलेमतोमा भर्खर जन्मिएको शिशु गायब बनाउने प्रेमी र डाक्टर पक्राउ परेका छन् ।
 

आफ्नी प्रमिकाले बच्चा जन्माएपछि डक्टरसँगको मिलेमतोमा बच्चा गायब पार्ने भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र विराटनगरस्थित ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ परेका हुन् ।
 

मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रन्जनकुमार दाहालले बच्चा गायब बनाएको किटानी जाहेरीका आधारमा राई र डा. कर्णलाई पक्रउा गरिएको जानकारी दिए ।
 

१३ असािरमा १३ मा सुनसरी रामधुनी नगरपालिकाकी २६ वर्षीया युवतीले आफ्ना प्रेमी राईलाई आफूलाई प्रसुति व्यथाले च्यापेको सुनाएपछि उनलाई अस्पताल पु-याइयो ।
 

ग्रिनक्रस अस्पताका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कर्णले युवतीलाई जाँच गरेर व्यथा अझै बढ्ने औषधि दिएको केहीबेरपछि युवतीले नर्मल रूपमा छोरी जन्माइन् ।
 

भोलिपल्ट असार १४ गते अस्पतालले उनलाई डिस्चार्ज ग-यो तर बच्चा दिएन । आफ्नो बच्चा नदिएपछि युवतीले प्रेमी राईलाई बच्चाबारे सोधिन् ।
 

गोविन्दले बच्चा अस्पतालमै रहेको र उपचारका लागि केही दिन राख्नुपर्ने बताए । बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर प्रेमीसँगै इटहरी फर्किएर बसपार्क छेउको होटलमा गोविन्दले भाडामा लिएको कोठामा पुगिन् ।

कोठामा पनि बच्चा खोइ भन्दा अस्पतालमै छ भनेका गोविन्द १६ असारमा मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किएपछि पुनः होटलमा फर्किएनन् ।
 

बिहे गर्ने वाचा गरेर बच्चासमेत जन्मिएपछि प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत नपाएपछि युवतीले प्रहरीमा उजुरी दिइन् । जाहेरीअनुसार प्रहरीले अनुसन्धान थालेर गत शुक्रबार प्रेमी गोविन्द र प्रसुति गराउने चिकित्सक कर्णलाई प्रहरीले पक्राउ गरेको डिएसपी दाहालले बताए ।
 

स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण कोशी अस्पतालका पूर्वप्रमुखसमेत हुन् ।
 

दाहालले प्रसुती व्यथा लागेपछि अस्पतालमा भर्ना गर्दा युवतीको वास्तविक नाम नराखेर फूलकुमारी तामाङ लेखिएको पत्ता लागेको बताए ।
 

पर्चीमा फूलकुमारी नाम भएकी युवतीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । पक्राउ परेका कर्ण बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका छन् ।
 

चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update