Public Pana
हवाई डढेलो  : ११४ जनाको मृत्यु, एक हजार बेपत्ता

अमेरिकाको हवाई राज्यको माउवी जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् । ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।
 

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै बढ्न सक्ने जनाएका छन् । उनले डढेलो लागेका सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको जनाएको सिन्ह्वाले उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

उनले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पत्ति ध्वस्त भएको अनुमान गरिएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार २२ सय भवन ध्वस्त हुनुका साथै अन्य ५ सय बढी भवनमा क्षति पुगेको छ ।
 

उद्धार कार्य जारी
डढेलोको कारण माउवीको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक सहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ ।

त्यहाँ १३ हजार सर्वसाधारण बस्ने गर्थे । कम्तिमा अझै एक हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको हवाई राज्यका प्रमुख जोस ग्रिनको भनाइ छ ।
 

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोली सोमबार माउवी राज्यका जीवित उद्धार गरिएका परिवारसँग भेट्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update