Public Pana
सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी

६० किलो सुन बरामद प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।
 

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।
 

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो ।

१९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।
 

त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।
 

उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।
 

पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।
 

थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको प्रहरी प्रवक्ता कठायतले बताए ।

नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update