Public Pana
दुई केजी सुनसहित पैदल यात्री पक्राउ

प्रहरीले आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित सडकबाट पैदल यात्रीको साथमा दुई केजी सुन फेला पारेको छ ।
 

टिमुरेबाट स्याफ्रूबेँसीतर्फ आउँदै गरेका पैदल यात्री सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५पोखरी बस्ने बर्ष २४ को सुदीप शेर्पाबाट प्रहरीले उक्त सुन बरामद गरेको हो । 
 

शेर्पाले लगाएको कालो रंगको चेष्ट गार्डको भित्री खल्तीमा करिब २ केजी सुनको जस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त सुनमा मेटालोर१ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको छ।

 

बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

लुकाएर ल्याएको अवस्थामा फेला परेको उक्त सुनसहित शेर्पालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
 

गत साउन ३ गते बरामद भएको साढे ६० किलो सुन प्रकरणले राजनीतिक बृत्तसमेत तरंगित भइरहेको छ ।
 

हङकङ हुँदै आएको उक्त सुनका कारण संसद्समेत अवरोधको अवस्था छ ।
हवाइजहाजबाट आएको सुनले तरंग ल्याइरहेका बेला पैदलमार्गबाट पनि आउने क्रम रोकिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update