Public Pana
एभरग्रान्डेले अदालती संरक्षण माग्यो अमेरिकामा 

चीनको भिमकाय रियल ईस्टेट कम्पनी एभरग्रान्डेले अमेरिकामा अदालती संरक्षण माग्दै आवेदन दिएको छ ।

कर्जामा चुर्लुम्म डुबेको सो कम्पनीले अमेरिकाको न्यूयोर्कस्थित एउटा संघीय अदालतमा बैंकरप्सी कोडको दफा १५ अन्तर्गत अमेरिकामा भएको आफ्नो सम्पत्ति जोगाइदिन अनुरोध गरेर आवेदन दिएको हो ।
 

३ खर्ब डलरभन्दा बढीको कर्जामा डुबेको एभरग्रान्डे विश्वमै सबैभन्दा धेरै कर्जा बोक्ने रियल ईस्टेट कम्पनी हो ।

चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटले यसलाई नराम्ररी गाँजेको छ । दफा १५ ले कर्जा तिर्न नसकेर कर्जादाताहरुसँग कर्जा पुनःसंरचनाको अवस्थामा रहेका गैर अमेरिकी कम्पनीहरुको सम्पत्तिलाई जोगाइदिन्छ ।
 

अहिले चीनको अर्थतन्त्र सुस्ताएको छ । त्यहाँको घरजग्गा बजारमा व्याप्त संकट अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पोखिने भय बढिरहेकै समयमा एभरग्रान्डले अदालती संरक्षण मागेको हो ।

चीनको घरजग्गा बजारमा एभरग्रान्डेको हिस्सा ४० प्रतिशतभन्दा धेरै थियो । तर चीन सरकारले ऋणमा चुर्लुम्म डुबेको घर जग्गा बजारमा कडाई गर्न थालेपछि कम्पनी ऋणको साँवा ब्याज तिर्न नसकेर डिफल्टमा गयो ।
 

सन् २०२१ यता चीनका अन्य कयौं डेभलपर कम्पनीहरु डिफल्टमा गएका थिए । यो महीना मात्रै निजी क्षेत्रको अर्को ठूलो डेभलपर कम्पनी कन्ट्री गार्डेनले केही ब्याजको भुक्तानी गर्न नसकेपछि समस्या थप विकराल बन्दै गएको हो कि भन्ने भय बढाएको छ ।

सन् २०२१ र सन् २०२२ मा एभरग्रान्डेले ८० अर्ब डलर घाटा बेहोरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update