Public Pana
विपतद्धारा मृत्यु हुनेको सँख्या २०८० मा १४८ जना 

पछिल्लो चार महिनामा विपद्का घटनामा परी देशभर १४८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा २ हजार ५१० वटा विपद्का घटनामा ३० जना बेपत्ता भएका छन् ।
 

२०८० वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा विपद्का घटनामा परी ४९६ जना घाइते भएको प्राधिकरणले जनाएको छ । बाढी, पहिरो, हाई अल्टिच्युड, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, हिमपहिरो, वन डढेलोलगायतका घटनाले उक्त क्षति गरेको हो ।
 

विपद्का घटनामध्ये सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले गरेको छ । बितेको चार महिनामा पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । यस्तै, हाई अल्टिच्युडका कारण पाँच, बाढीमा परी ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परी २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
 

विपद्का घटनाबाट उक्त अवधिमा आठ हजार २४० परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनाले वैशाखयता एक अर्ब १८ करोड १८ लाख १५ हजार ३४७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
 

आगलागीका घटनाले ८४ करोड चार लाख ७० हजार ९४७ रुपैयाँ, बाढीले २५ करोड १० लाख १० हजार ५०० रुपैयाँ, पहिरोले चार करोड ४१ लाख ४० हजार २०० रुपैयाँ र हुरी बतासले दुई करोड ५९ लाख पाँच हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update