Public Pana
प्रधानमन्त्री दाहालले भारतीय बाबालाई आज भेट्दै

जातीय छुवाछुतको सार्वजनिक अभ्यास गर्ने विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आएका छन् ।

२५ जनाको दलबलसहित हिजो आएका बाबालाई सरकारले उच्चस्तरको सुरक्षा र सम्मान दिएको छ ।
 

शास्त्रीको दलबलमा रहेकामध्ये १२ जना हवाइमार्गबाट र १३ जना स्थलमार्गबाट नेपाल आएका हुन् । एयरपोर्टको भीभीआइपी कक्ष प्रयोग गरेका शास्त्रीलाई एक मोटरसाइकल र एउटा गाडीको स्कर्टिङसहित होटल भिभान्ता पुर्याइएको थियो । त्यहाँ केहीबेर बिताएर उनी पशुपतिनाथ मन्दिर पुगे ।
 

पशुपतिनाथ मन्दिरमा बागेश्वरलाई हेर्न थाम्नै नसक्ने भीड लागेको थियो । तीज र शिवरात्रीमा जस्तै हजारौं मानिसहरु भेला भएका थिए । शास्त्री पशुपति मन्दिरभित्रको आरतीमा सहभागी भए ।

पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । त्यहाँबाट फर्केर होटल आएका शास्त्रीले आजको डिनर भने विनोद चौधरीको निजी निवासमा गरे । 
 

शास्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय दिएनन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update