Public Pana
आन्तरिक पर्यटन :  घुम्न जाऔं टीकापुर पार्क 

कर्णाली किनारमा अवस्थित गुलाबको बगैंचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरुको भिड लाग्छ । कैलालीको पूर्वी भागमा रहेको टीकापुर महेन्द्र राजमार्गदेखि १४ किमी दक्षिणमा पर्छ । शान्त वातावरण, मौसमी–बेमौसमी फूल टीकापुर पार्कका आकर्षण हुन् ।
 

हिउँद लागेपछि यहाँ वनभोज खान र रमाउन आउनेहरुको संख्या बढेको छ । झापाकी नेहा पौडेलले सुदूरपश्चिमेली साथीको मौखिक प्रचारमा आफ्नो समूह टीकापुर पार्कमा पुगेको बताइन् । ‘बिदामा साथीहरु घुम्न भनेर निस्केका हौं’ नेहाले भनिन्, ‘टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ आएका हौँ ।’
 

दाङका शेषमणि शर्माको परिवार पनि टीकापुर पार्कमा रमाइरहेको थियो । ‘कति रमाइलो ठाउँ रहेछ’ शेषमणिले भने, ‘महेन्द्र राजा बसेको घरभित्र अवलोकन गर्न पाइएन । साथै घरहरू रङरोगन गरेको भए हुन्थ्यो ।’
 

बुटवलबाट लक्ष्मी चौधरीसहित ३५ जनाको समूह वनभोज (पिकनिक) खान टीकापुर पार्कमा पुगेको थियो । उनीहरूले पार्कछेउमै खाना पकाएर खाए । रमाइलो गरे ।
लक्ष्मीले भनिन्, ‘पार्कमा वनभोज खानेहरु नाचगान गर्छन्, फोटो खिच्छन्, हामीले कर्णाली नदीमा -याफ्टिङ ग-यौं । तर, यहाँका घर, संरचनाहरु बिग्रिन थालेका रहेछन्, आकर्षक बनाउनुपर्ने देखियो ।’
तैपनि त्यहाँ पुग्दा आनन्द लागेको लक्ष्मीले बताइन् । ‘चराको स्वरले स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर आवाज, कलकल कर्णाली बगेको, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो ।’

 

स्थानीय युवराज सुवेदीले पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन् । ‘पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कंदा पीडा हुन्छ,’ उनी भन्छन्, ‘पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ, तर भित्र सरसफाइ लगायतका काममा पछाडि छौँ । राजनीतिक दलले पनि पार्कको विकासमा ध्यान दिएको देखिँदैन ।’
 

पार्कमा दैनिक एक हजारदेखि १५ सय र बिदाको दिन तीन हजारसम्म आन्तरिक पर्यटक पुग्ने गरेको टीकापुर नगरपालिकाले जनाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्रालयको पर्यटनसम्बन्धी योजना कार्यान्वयन गर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ, कैलालीको कार्यक्रम पुस्तिकामा टीकापुरको योजना पार्क र होमस्टे थोरै मात्र भएकाले तत्काल विकास हुन नसकेको भन्नेको कमी छैन ।
 

टीकापुर विकास समितिले पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम वाटिका, ऐश्वर्य उद्यानलगायत करोडौं रुपैयाँका पूर्वाधार खडा गरेको छ ।
tkp-1692401908.jpg

राजा महेन्द्रको, टीकापुर पार्क
मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले २०२४ सालमा टीकापुर पुगेर साढे एक महिना आराम गरेका थिए । टीकापुर बसेर राज्य चलाउन असहज भएपछि उनी काठमाडौँ फर्किए र टीकापुरमा विकास गर्न र पार्क बनाउन निर्देशन दिए । उनले आराम गरेकै क्षेत्रलाई लिएर २०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ ।

 

विश्वका आरोहीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएपछि नेपालमा सन् १९५५ अर्थात् २०१२ सालमा रसियाली नागरिक बोरिस लिसानेभिचले हालको निर्वाचन कार्यालय रहेको बहादुर भवनमा रोयल होटेल नामले पहिलो पर्यटकीय होटेल स्थापना गरे । जसबाट राजा महेन्द्रले पनि विश्राम गर्ने ठाउँलाई पर्यटकीय क्षेत्र अर्थात् पार्क बनाउन सिकेको भन्न सकिन्छ ।

विकास समिति हटेपछि २०६४ मंसिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको छ । नगरपालिकाको स्वामित्वमा पुगे पनि राजनीतिक रूपमा भाषणमा सीमित भएको छ टीकापुर पार्क ।
 

भारतको सीमादेखि १४ किमि उत्तरमा कर्णाली नदीको पश्चिमी तटमा रहेको छ टीकापुर । पूर्वमा कर्णाली र बर्दिया जिल्ला, पश्चिममा भजनी नगरपालिका, उत्तरमा जानकी गाउँपालिका र दक्षिणमा मोहना नदी, भारतीय सीमा पर्छ ।
 

प्रजातन्त्र पुनःस्थापनापश्चात् नगरोन्मुख गाविस, गाविस हुँदै २०५३ माघ १७ गते टीकापुर नगरपालिका बन्यो । २०७३ फागुन २७ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गाविस एकै ठाउँमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिका बनेको छ ।
 

घना जंगल भएको यो क्षेत्रमा टीकाजस्तै गोलाकार रूपमा बस्ती बसेकाले नाम टीकापुर रहन गएको मान्यता छ । बस्ती बस्ने क्रममा जंगल फँडानीको काम दसैँको टीकाको दिनदेखि प्रारम्भ गरिएकाले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ पनि छ ।
 

योजना
टीकापुर पार्क निर्माण गर्ने भनेर अघि बढेको निकाय पनि विमानस्थल निर्माण गरी कार्यान्वयनमा ल्याउन दबाब नआउँदा चुप छ । जसका लागि टीकापुर पार्क र होमस्टेले पर्यटनको सम्भावना योजनामा मात्र सीमित भएको छ । सोही क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र पर्यटकलाई आवश्यक सुविधा विकास भर्खरै सकिएको चुनावमा मात्र सीमित भयो ।

 

पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम वाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ ।
 

करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउन्टर, वनभोजस्थल बस्ने चौतारीलगायत केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन ।
 

सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर पार्कको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष ०७९-८० देखि ०८९-९० सम्म अवधि रहेको गुरुयोजनामा टीकापुर पार्कसमेत छ । तर, टीकापुरका व्यवसायी तैं चुप मैं चुपको अवस्थामा छन् ।
 

योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल टीकापुर पार्कलाई नेपालसहित विश्वमा चिनाउन विमानस्थल पुनर्निर्माण गरी सञ्चालन गर्न गाह्रो नहुने बताउँछन् । उनी भन्छन्, ‘निर्माणका लागि उद्योगी, व्यवसायीसहित राजनीतिक दलका व्यक्ति पहिलो जिम्मेवारीमा पर्छन्, दाङलगायत अन्य स्थानका बन्द विमानस्थल सञ्चालनमा आउन सक्ने, टीकापुरको नसक्ने भन्ने होइन, व्यवसायी र नेता शिथिल भएका कारण अबको १५ वर्षसम्म पनि पूर्ण सञ्चालन हुनेमा शंकै छ ।’
 

कैलाली क्षेत्र नम्बर १, टीकापुरका प्रतिनिधिसभा सदस्य नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भन्छिन्, ‘टीकापुर पार्कका लागि पहिला विमानस्थल खुल्नुपर्छ, निर्दोषलाई जेलबाट मुक्त गरे पार्कका लागि बाटो खुल्थ्यो ।’

tikapur dakkf1692401943.jpg
 

बन्द भयो विमानस्थल
कैलाली उद्योग वाणिज्य अध्यक्ष एवं टीकापुरका बासिन्दा पुष्पराज कुँवरको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सम्भावना भएको पर्यटन क्षेत्र टीकापुर भए पनि विमानस्थल सञ्चालन भएन, माओवादीले बन्द गरेको विकास अहिले कतैबाट अघि बढ्न नसकेको आरोप छ । अहिले यहाँको विमानस्थल पशु चर्ने गौचरण बनेको छ ।

 

उनले चिसापानीदेखि टीकापुरसम्म पर्यटकीय क्षेत्रको सौन्दर्यीकरण गर्न पार्क, गार्डेन, ट्रेकिङ ट्रेल निर्माण, पर्यटनकका लागि बसोबास तथा खानाका लागि सुविधायुक्त होटेल निर्माण, घरबास (होमस्टे) सञ्चालन, पर्टयन प्रवर्द्धनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया, पर्यटन व्यवसायीको भ्रमण, अन्तर्राष्ट्रियस्तरमा पर्यटन क्षेत्रको प्रचारलगायत क्षेत्रमा लगानी गर्न गुरुयोजनाले सुझाएको दाबी गरे । त्यसो भए टीकापुर पार्कको विकास किन भएन ? बन्द विमानस्थल सञ्चालनमा किन आएन ?
 

माओवादी द्वन्द्वकालदेखि बन्द भएको टीकापुर विमानस्थल माओवादी नै सरकारमा आएको १५ वर्ष बित्दासमेत सञ्चालन हुन सकेको छैन ।

airport- tika1692401975.jpg


 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update