Public Pana
चीन भ्रमणकामा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने जानकारी दिएका छन् ।
 

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका हुन् ।
 

प्रधानमन्त्री प्रचण्डले छिमेकी मित्रराष्ट्र चीनसँग चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको उल्लेख गरे ।
 

उनले हाल भारतमा करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रुपमा हेरिएको जिकिर गरे ।
 

भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरु हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि जिकिर गरे ।
 

विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोंच र लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
 

उनले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह समेत गरे ।
 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सेयर निष्काशन गर्ने तयारी गरेको भन्दै प्राथमिक शेयर निष्काशनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी हुने बताए ।
 

प्राधिकरणको सम्पूर्ण सम्पत्तीको वास्तविक मूल्यांकन गराइएको र क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको उनले जानकारी दिए ।

घिसिङले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरणमा जोड दिएको बताए ।
 

उनले अहिले मुलुकभरका ९८ प्रतिशत जनतामा विधुतको पहुँच पुगेको भन्दै आगामी दुई बर्षभित्रमा सत प्रतिशत जनतामा विधुतको पहुँच पुराउने लक्ष्यका साथ अघि बढेको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update