Public Pana
जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति  :    राष्ट्रियसभा 

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति नियम तर्जुमा गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
 

सिंहदरबारमा आज शुक्रबार बसेको समिति बैठकले जलवायु परिवर्तन र यसले पुराएका असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गरि संघ प्रदेश र स्थानीय तहको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले वन संरक्षणमा भएका प्रगतिसंगै यसको सदूपयोग गर्दै कार्वन व्यापारबाट प्राप्त हुने सहयोगको सम्बन्धीत क्षेत्रमा नै खर्च गर्ने व्यवस्था मिलाउन वन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले विश्व जलवायु सम्मेलन(कोप २८) मा प्रभावकारी सहभागीता लागि र नेपालका मुद्दाहरु विश्वसामू उठाउन र आपसी सहयोगहुने गरि तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए । 
 

त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थीत उपयोगका लागि प्रभावकारी नीति एवं कानून लागू गर्न सुझाव दिएको सभापति पन्थले बताए । 
 

बैठकमा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले नियम कानून र योजनाका अभावमा नेपालले जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताए ।

जलवायुका क्षेत्रमा अर्थमन्त्रालयले विदेशी निकायहरुबाट लिने सहायताको अन्तरवस्तु नमिलेका कारण खर्च हुन नसकेको उनले बताए ।

मन्त्री महतोले कार्वनका क्षेत्रमा काम गर्नका लागि जनशक्ति र प्रयोगशाला नभएका कारण नेपाल पछि परेको जिकिर गरे ।
 

बैठकमा समिति सदस्यहरुले जलवायु परिवर्तनमा समयमा नै ध्यान दिन नसकेका कारण अहिले त्यसको असर देखिन थालेकाले गम्भीर हुनुपर्ने समय आएको धारण राखेका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update