Public Pana
सार्वजनिक लेखा समितिको बैठक स्थगित

कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक आज स्थगित भएको छ । बिहीबार दिउँसाको लागि  बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । 

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताए ।

अहिले देखिएका गम्भीर विषयमा सभापति चयन नभई पनि छलफल गर्न कुनै आपत्ति नहुनुपर्ने बताए ।

गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ ।

सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update