Public Pana
किशोरीकी आमाको उमेर एकिन गर्न आदेश  : सन्दीप विरुद्धको मुद्दा 

जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको उमेर एकिन गर्न आदेश दिएको छ ।

आज बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएको हो ।

त्यही विवरणका कारण पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ ।

उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिएका सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए । 

उता किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ ।

यो प्रकरणमा ती किशोरीले अदालतको आदेशअनुसार राज्यले पीडित राहत कोषबाट दिने एक लाख रुपैयाँ बुझेर लगिसकेकी छन् । 

विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे प्रस्थान गरेयता उनीविरुद्ध मुद्दाको सुनुवाइले निरन्तरता पाउन सकेको थिएन । उनी जिम्बावेबाट फर्किएलगत्तै मुद्दाको सुनुवाइ भएर आदेश आएको हो ।

क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो ।
उक्त मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो । 

यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएपनि 
उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update