Public Pana
ललिता निवास प्रकरणका २ जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् ।

जिल्ला अदलात काठमाडौंले बुधबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

आज बुधबार म्याद थपका लागि उनीहरुसहित २० जनालाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। दुवै जनाले न्यायाधीश समक्ष आफू वृद्ध रहेको र रोगी पनि रहेको भन्दै थुनाबाहिर राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए ।

गत असार १२ गते नै पक्राउ परेका गौतम सुरुदेखि नै अस्पतालमा थिए। उनी गम्भीर बिरामी पनि हुन् । 
 

यस्तै घिमिरे पनि ७५ वर्ष माथिका हुन् । उनी अस्पतालमा नभएपनि आफू बृद्ध रहेको भन्दै न्यायाधीश समक्ष अनुरोध गरेका थिए ।

यससँगै ललिता निवास प्रकरणमा ५ जना थुनाबाहिर र १८ जना थुनामा रहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

यसअघि तीन जनालाई रिहा गरिएको थियो ।  समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, सिद्धिका खेतान र सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update